September 20, 2020

प्लाष्टिक झोला नियन्त्रणका लागि कपडाको झोला प्रबर्धन गर्दै, वडा कार्यालय

सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ भित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

नगरपालिकाको २ नं. वडा कार्यालयले प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न पहिलो चरणमा कपडाको झोला प्रयोगमा ल्याएको छ । वडा कार्यालयले कसुदेवु पब्लिक हेल्थ मिसनको सहयोगमा पहिलो चरणमा १ हजार वटा कपडाको झोला विक्री गर्न लागेको वडा अध्यक्ष मिङमार शेर्पाले जानकारी दिनुभयो 

पहिलो चरणमा प्लाष्टिक झोलालाई पूर्ण रुपमा प्रतिबन्ध नलगाए पनि यसको विकल्प दिएर प्रयोगकर्तालाई सचेतना जगाएर प्लाष्टिक झोला विस्थापन गर्ने वडा कार्यालयको रणनीति रहेको उहाँले जानकारी दिनुभयो ।


‘पहिलो चरणमा हामीले १ हजार वटा कपडाको झोला विक्री गर्दैछौं, प्रति झोलाको मूल्य ५० रुपैयाँ तोकेका छौं र यसको विक्री भइसकेपछि विस्तारै चेतना जगाउँदै कपडाको झोला प्रति उपभोक्ताको आकर्षण बढाउदै लानेछौं, जब आर्थिक एवं वातावरणीय हिसाबले कपडाको झोला र प्लाष्टिक झोलाको तुलनात्मक महत्व बुझ्न थाल्छन् प्रयोगकर्ता आफै प्लाष्टिक झोला प्रयोग प्रति निरुत्साहित हुँदै जानेछन्’ वडाध्यक्ष शेर्पाले भन्नुभयो ।

1Shares